एनएमबि बैङ्कको वार्षिक साधारण सभा साउन ३१ गते, १५ प्रतिशत बोनस शेयर, पूँजी रू. ८ अर्ब ७४ करोड पुग्ने

साउन १०, काठमाडौं (अस) । एनएमबि बैङ्कको २२औं वार्षिक साधारण सभा साउन ३१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा हुँदैछ । बैङ्कको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने रहेको छ । साथै, बैङ्कले अन्य बैङ्क तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने रहेको छ ।
बैङ्कले एफपीओ जारी पश्चात कायम हुने चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितण गर्न प्रस्ताव गरेको हो । यो बोनस शेयर वितरणपछि पूँजी रू. ८ अर्ब ७४ करोड पुग्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन १७ गतेदेखि ३१ गतेसम्म बन्द हुनेछ । साउन १६ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् ।
